
चितवन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने जोसुकैलाई पार्टीले छुट नदिने बताएका छन् ।




आज (शनिबार) चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने–‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’
भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने र गल्ती गर्नेलाई पार्टीले छुट नदिने उनले बताए । पार्टी नेतृत्व सचेत रहेको बताउँदै उनले अनुशासन उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँने बताए ।
उनले भने–‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गम्भीर रुपमा गर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनुपर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’
उनले प्राकृतिक चिकित्सालको आवश्यकता र महत्वको बारेमा पनि सो क्रममा चर्चा गरेका थिए । उनले यस्ता चिकित्सालयलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।