
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता हुन् दिनानाथ शर्मा । तत्कालीन माओवादी आन्दोलनमा सक्रिय रहेका शर्माले आज गम्भीर प्रश्न उठाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले तत्कालीन माओवादीको एजेन्डामा धर्मनिरपेक्षता नभएपनि एकाएक कहाँबाट आयो भन्ने आफूलाई नै थाहा नभएको बताएका छन् ।
उनले भने, ‘धर्म बोकेर हिँड्दा राम्रो हुँदैन । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ ।’
आफूहरूले जनयुद्धकालीन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए । उनले भने, ‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पुर्याउनुपर्छ ।’
उनले धर्मनिरपेक्षता आफूहरूको माग नभएको जिकिर गरे । शर्माले सुनाए, ‘त्यतिबेला पनि धर्मनिरपेक्षता बनाउने हाम्रो माग थिएन । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपूर्व नै धर्म निरपेक्षता बनाइयो । त्यतिबेला सरकारमा कांग्रेस र तत्कालीन नेकपा एमाले नै थियो । त्यतिवेला त्यो एजेण्डा नै थिएन । कोबाट आयो ? कहाँबाट आयो ? हामीलाई थाहा थिएन । तर हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । उनले भने, ‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’ पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाई छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन् । उनले भने, ‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन् । सरकारलाई दोष थोपरेर उम्किन खोजेको होइन । तर सरकारको व्यवहार नै त्यस्तो छ ।’