वामदेवकाे ‘इन्ट्री’सँगै अर्थमन्त्री खतिवडा आउट

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । उनलाई राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको ठाउँमा मनोनीत गर्न लागिएको हो । खतिवडा अहिले अर्थमन्त्री छन् ।

 

बिज्ञापन

गौतम राष्ट्रियसभामा प्रवेश गर्दैगर्दा खतिवडा थप ६ महिना अर्थमन्त्रीकै रूपमा रहन्छन् वा बाहिरिन्छन् भन्ने चासो चौतर्फी छ ।

 

गोला प्रथाका आधारमा खतिवडाको २ वर्षे कार्यकाल यही २० फागुनमा सकिँदै छ । संविधानको धारा ७६ को उपधारा (९) अनुसार मन्त्री बनेकाले सांसद पद नै नरहेपछि उनको मन्त्री पद रहँदैन ।

 

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापा राष्ट्रियसभामा एक जना मनोनीत हुने कोटा मात्रै रहेकाले खतिवडा राष्ट्रियसभाबाट बाहिरिने बताउँछन् ।

 

खतिवडालाई राष्ट्रियसभामै पुनः मनोनीत गर्न संविधानले रोक्छ ।

 

तर, सरकारले चाहेको खण्डमा खतिवडा अझै ६ महिना मन्त्रीकै रूपमा रहन सक्ने अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् । ‘२० फागुनमा खतिवडाको सांसद पद स्वतः सकिन्छ’, अधिवक्ता अर्यालले भने, ‘त्यसपछि सरकारले चाहेमा उनलाई मन्त्रीमा पुनः नियुक्त गर्न संविधानले रोक्दैन, उनले फेरि शपथग्रहण गर्नुपर्छ ।’

 

संविधानको धारा ७८ ले सांसद नरहेको व्यक्तिलाई पनि बढीमा ६ महिनासम्म मन्त्री बन्न सक्ने ढोका खोलेको अधिवक्ता अर्याल बताउँछन् ।

 

८ फागुन २०७४ मा सरकारले खतिवडालाई राष्ट्रियसभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रीपरिषदकाे सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम खतिवडालाई मनोनित गरेकी थिइन् ।

 

५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रीपरिषदकाे सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनीत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८६ उपधारा २ (ख) मा ‘नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना’ राष्ट्रियसभामा रहने व्यवस्था छ ।

 

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सदस्य त्यसअघि नै निर्वाचित भएका थिए ।

 

वामदेव अर्थमन्त्री !

 

सरकारले नचाहेमा २० फागुनबाट खतिवडा अर्थमन्त्रीका रूपमा रहने छैनन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई पुनः नियुक्त गर्ने तयारीमा छन् ।

 

यद्यपि, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल वामदेवलाई नै अर्थ मन्त्रालय जिम्मा लगाउनुपर्ने पक्षमा रहेकाे नेकपाका एक स्थायी कमिटी सदस्यले बताए ।

 

‘प्रधानमन्त्रीजीले के गर्नुहुन्छ, त्यो मैले भन्ने कुरा होइन तर प्रचण्ड र माधव कमरेडलगायतका केही शीर्ष नेता कमरेड वामदेवलाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनुपर्ने पक्षमा हुनुहुन्छ ।’