महिलाहरुले ‘हामी सक्षम छाैँ’ भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्छ : मन्त्री अर्याल

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

 

बिज्ञापन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाण्डाैमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्‍याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जाेड दिनुभयाे ।

 

सरकारले  १५ औँ योजनामा सन् २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र त्यहीअनुसार नै काम अगाडि बढेको बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरी महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

नेपाली काङ्ग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेशिताको सुनिश्चितता गरेको भए पनि सरकारमा महिला सहभागिता नहुनुले अझै पनि महिलाहरुलाई चुनौती रहेको बताउनुभयो । उहाँले अझै पनि निर्णय गर्ने ठाउँमा महिलाहरु पुग्न नसक्नुले राजनीतिक लडाइँ अझै नसकिएको स्पष्ट पार्नुभयाे ।

 

राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताउनुभयो । उहाँले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताउनुभयो ।

 

सांसद चन्दा चौधरीले विभिन्न पार्टीभित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विपभन्दा माथि उठेर काम गर्न नसक्दासम्म महिला अधिकारको सुनिश्चितता नहुने बताउनुभयो ।

 

अभिनेत्री रेखा थापाले पुरुषहरुको दबदबा भयो, महिलाहरु कोटामा मात्रै भन्ने महिलाहरुले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौती दिनुभयो । उहाँले सदनका महिलादेखि सडकका महिलाहरुले ताली पड्काउन र दर्शकको रुपमा मात्र काम गरेकाले महिलाहरु सधैँ पछाडि परेको बताउनुभयो ।

 

कार्यक्रममा महिलाहरुको हक हितका लागि नेतृत्व तहमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका थिए । उनीहरुले देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको उल्लेख गर्दै त्यसका लागि आफूहरु सधैँ लडिरहने प्रतिबद्धता समेत जनाए ।