इटालीमा एकैदिन २ सय ५० जनाको मृत्यु, २ हजारभन्दा बढी नयाँ संक्रमित

काठमाडौं : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरको संक्रमणबाट इटालीमा थप २ सय ५० जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाका कारा ज्यान गुमाउनेको संख्या १२ सय ६६ पुगेको छ ।

बिज्ञापन

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाबाट इटालीमा २ हजार ५ सय ४७ जना नयाँ संक्रमित फेला परेको छ । इटालीपछि सबैभन्दा धेरै इरानमा ८५ जना, स्पेनमा ४७, फ्रान्समा १८, अमेरिकामा ७ र दक्षिण कोरियामा पाँचजनाले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका छन् ।

 

चीनपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो । यहाँ हालसम्म १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको छ ।

 

कोरानाका कारण चीनमा अहिलेसम्म सबैभन्दा धेरै ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । तर, चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या भने ह्वात्तै घटेको छ ।

 

हिजो (शुक्रबार) चीनमा कोरोनाका कारण एकजनाको पनि मृत्यु भएको छैन भने १० जनामा नयाँ संक्रमण फेला परेको छ ।

 

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन् । त्यस्तै झण्डै ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।

 

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय २९ देशमा फैलिसकेको छ ।

 

पछिल्लो समय कोरोनाभाइरको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण दल घट्दै गएपछि चिनियाँ राष्ट्रपति सी जिनफिङले कोरोनाको माहामारीबाट मुक्त भएको घोषणा गरेका हुन् । कोरोना माहामारी मुक्त घोषणा गरेसँगै गत मंगलबार राष्ट्रपति जिनफिङले कोरोनाबाट अति प्रभावित वुहान क्षेत्रको भ्रमण गरेका थिए ।