यौन दुर्व्यवहारमा सफाइ पाएका महरालाई अर्को खड्गो

आफ्नै सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएपछि कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पदमात्रै गएन, जीवनभर पौरख गरेर उचालेको राजनीतिक उचाई गल्र्यामगुर्लुम्म ढल्यो ।

 

बिज्ञापन

 

पुर्पक्षका लागि डिल्लीबजार कारागारमा केही महिना गुजारेका महरालाई काठमाडौं जिल्ला अदालतको आदेशले राहत मिलेको छ । जिल्ला अदालतको फैसलाबाट सफाई पाएका महरा उत्साहित भए पनि उनी अहिलेसम्म संसद गएका छैनन् । बरु उनी श्रीमतीसहित आफ्नो निर्वाचन क्षेत्रको दौडाहामा छन् ।

 

निर्वाचन क्षेत्रका मतदातामाझ उभिएर महराले भनिरहेका छन्–काठमाडौं जिल्ला अदालतले गरेको फैसला मेरो नभएर जनताको जीत हो । महरा जिल्ला अदालतको फैसलाबाट बढी नै उत्साहित छन् भन्ने उनका पछिल्ला अभिव्यक्तिले प्रष्ट हुन्छ । तर, महराको राजनीतिक स्थान के हुने भन्नेबारे अझै अन्यौल छ ।

 

अभियोग लागेलगत्तै राजीनामा दिन निर्देशन दिएको नेकपाले महराप्रकरणमा अहिलेसम्म मुख खोलेको छैन । त्यसैले महराको राजनीतिक स्पेसबारे अझै पनि अन्योलता नै छ ।

 

त्यो भन्दा पनि अर्को गम्भीर मामला के छ भने महराले अझै कानुनी लडाई लड्नुपर्ने देखिएको छ । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतले पूर्ण सफाइ दिए पनि यो प्रकरण पुनरावेदन गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार महराको अन्तिम फैसला अझै तयार भएको छैन ।

 

अबको केही दिनमै अन्तिम फैसला तयार हुँदैछ । जिल्लाको अन्तिम फैसला तयारीपछि ३५ दिनभित्र सरकारवादी मुद्दा पुनरावेदन गर्ने प्रचलन छ । अभियोग लगाउने महिलाले बोली फेरेकाले यो मामला यही सुल्झने कतिपयको अनुमान छ ।

 

तर महराले जिल्लाबारै पूर्ण सफाई पाउने सम्भावना छैन । स्रोतका अनुसार ३५ दिनपछि महरासँग जोडिएको मुद्दा उच्च अदालत पाटनमा लैजाने मनस्थितिमा सरकारी वकिल रहेका छन् । साँघु साप्ताहिक