आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३कोरोना संक्रमितको मृत्यु

भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ।

बिज्ञापन

दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्सिजन अन्तिम अवस्थामा पुगेको बताइएको छ। दिल्लीमा अक्सिजन अभावका कारण थुप्रै कोरोना संक्रमितको ज्यान गइरहेको बताइएको छ।

अधिकारीहरुका अनुसार कोरोना संक्रमितले ९९ प्रतिशत बेड भरिएका छन् भने अस्पतालका पेटी र खुला ठाउँमा बिरामीहरुको भीड लागेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजार ५ सय संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो । त्यस्तै यो अवधिमा २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। दैनिक हुने मृत्युमा यो पनि हालसम्मकै उच्च संख्या हो।