
अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने निश्चित रहेका जो बाइडेनले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेका छन् ।




अमेरिकी पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनमाथि करिब ३० वर्षअघि सिनेर रहँदा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

तारा रिड नाम गरेकी ती महिलाले बाइडेनको कार्यालयमा सहयोगीका रुपमा काम गर्दा बाइडेनले आफूलाई भित्ता तर्फ धकेलेर हात सर्ट तथा स्कर्ट भित्र पसालेको आरोप लगाएकी छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने लगभग पक्का बाइडेनको चुनावी अभियानले यस्तो कुनै पनि घटना नभएको बताएको छ ।
बाइडेनको चुनावी अभियानले भनेको छ, ‘उहाँ ती महिलाको कुरा सुनिनु पर्छ र सम्मानसहित सुनिनु पर्छ भन्ने कुरामा स्पष्ट रुपमा विश्वास गर्नु हुन्छ । र यस्ता अभियोगहरुलाई स्वतन्त्र सञ्चारमाध्यमले तत्परतापूर्वक पुनरावलोकन गर्नु पर्छ । यो आरोप सरासर झुठ हो ।’
५६ वर्षीया ती महिलाले एक अन्तर्वार्ताका क्रममा जो बाइडेनमाथि सो आरोप लगाएकी हुन् । रिडले ९ अप्रिलमा बाइडेनविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले सो उजुरीमा आफू यौन दुर्व्यहारबाट पीडित भएको उल्लेख गरेकी छन् ।
जो बाइडेनको नाम उल्लेख नगरी उजुरी गरेकी उनले सुरक्षाका कारण मात्रै आफूले सो उजुरी दर्ता गरेको ट्वीट मार्फत जानकारी गराएकी छन् ।