डब्ल्यूएचओले भन्यो, ‘विश्वका २ देखि ३ प्रतिशत मानिसमा मात्र कोरोनासँग लड्ने क्षमता छ’

एजेन्सी : कोरोना भाइरसको विषयलाई लिएर राजनीति भैरहेको बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कडा चेतावनी दिएको छ । अमेरिका र चीनको युद्धलाई संकेत गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराब स्थिती आउने चेतावनी दिएका हुन् ।

 

‘विश्वमा ३ देखि २ प्रतिशत मानिसमा मात्र यो भाइरससँग लड्ने क्षमता छ’ ग्रीब्रियासले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘कोरोना भाइरसको कारण विश्वमा थप भयावह स्थिति आउनसक्छ । जबसम्म यस भाइरसविरुद्धको खोप बन्दैन ।’

 

उनले भने, ‘यो अवस्था एकदमै खतरनाक अवस्था हो र अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लुको महामारी जस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो । तर अहिले भने हामीसँग प्रविधि छ र यसको सहयोग लिएर हामी विपत्तिबाट बच्न सक्छौ ।’ उनले थप भने, ‘हामीलाई विश्वास गर्नुहोस्, यस प्रकोपलाई रोक्न सबै अघि बढौं, किनकि यो यस्तो भाइरस हो, जुन मानिसहरुले अझै बुझिसकेका छैनन् । हामीले सुरुदेखि नै चेतावनी दिँदै आएका छौ कि यस्तो सैतानका विरुद्द हामी सबै मिलेर लडनुपर्छ ।’

 

अमेरिकासँग बिग्रिँदै गएको सम्बन्धका बारेमा उनले विश्व स्वास्थ्य संगठनसँग कुनै गोप्य कुरा नभएको र कोरोना भाइरसको सम्बन्धमा केही कुरा नलुकाइएको स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि विश्व स्वास्थ्य संगठन चीनप्रति लचिलो भएको आरोप लगाउँदै उपलव्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने निर्णय गरेका थिए ।