नेकपा सचिवालय बैठक आज बस्दै, यस्तो छ दुवै पक्षको रणनीति

काठमाडौं : निकै महत्वका साथ हेरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ४ बजे बस्दैछ ।

 

बिज्ञापन

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ प्रस्तावसँगै नयाँ मोडमा पुगेको नेकपा विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको हो ।

 

सचिवालय बैठक बस्नु अघि पूर्वसन्ध्यामा नेकपाका शीर्ष नेताहरुबीच भेटवार्ता र समूहगत छलफललाई तीव्रता दिन व्यस्त देखिएका थिए ।

 

अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच सचिवालय बैठकका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

ओलीसँगको छलफलपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो । प्रचण्ड र नेपालले आफू पक्षधर स्थायी कमिटीका नेतासँग पनि छलफल गरेका थिए । त्यस्तै ओलीले पनि आफ्नो निकट नेतासँग छलफल गरेका छन् ।

 

ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बनाउने कार्ड फालेपछि प्रचण्ड र नेपाल पक्ष त्यसलाई कसरी प्रतिवाद गर्ने भन्ने योजना बनाउन छलफलमा जुटेका छन् ।

 

गौतमलाई प्रधानमन्त्री बनाउने हो भने प्रधानमन्त्री ओलीले राजीनामा दिए कामचलाउ भएर बस्नुपर्ने प्रस्ताव लैजाने प्रचण्ड र नेपाल पक्षको योजना रहेको बुझिएको छ । ओलीको आश्वासनबाट विश्वस्त नभएका गौतमले भने आफूलाई सहयोग गर्न प्रचण्ड र नेपाललाई आग्रह गरेका छन् । जवाफमा प्रचण्डले सहयोग गर्न तयार रहेको तर पहिलो प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अडान राखेको बुझिएको छ ।

 

आजको बैठकमा प्रधानमन्त्री ओलीबाट कस्तो प्रस्ताव आउँछ त्यहि अनुसार अघि बढ्ने तयारी भएको नेपाल समूहका एक नेताले बताए । तर, जस्तो प्रस्ताव आएपनि प्रधानमन्त्रीको तत्काल राजीनामालाई भने सर्त बनाउने उनको भनाई छ ।

 

यसमा उपाध्यक्ष गौतम पनि सहमत रहेको बताइएको छ । प्रधानमन्त्रीले भने आजको बैठकमा कुनै निर्वाचन क्षेत्र खाली गराएर बामदेवलाई संसदमा लैजाने प्रस्ताव ल्याउने सम्भावना छ । यद्यपी बैठकमा दुवै पक्ष कस्तो रणनीति अपनाउँछन् भन्ने स्पष्ट हुन सकेको छैन ।