धराशायी राष्ट्रियता र स्वाभिमानलाई जोगाई राख्नु आजको आवश्यकता!

रबिन्द्र ढुङ्गाना

कुनैपनी भुगोल देश बन्नको लागि त्यहाका जनता, शाषक र सिमानाले मात्र महत्व राख्दैन । सर्वप्रथम त सु-सज्जित संस्कृती , रहनसहन र नितिनियमद्वारा बन्धित भिन्न प्रजातिका फुलहरुको बगैचा नै देश हो । देशको पर्यायवाची शब्द हो , राष्ट्र । देश अर्थात राष्ट्र भन्ने शब्दले निश्चित भुगोल , ईमान्दार शाषक , असल पद्धति र सन्तुष्ट प्रजाहरुलाई प्रतिबिम्बित गर्दछ ।

बिज्ञापन

 

देश असल बन्नका निमित्त नीति निर्माणकर्ता र पालनकर्ता दुबै असल , आज्ञाकारी र शिष्ट हुनु ठूलो आवस्यक छ । यसैगरी जनता र नेता दुबै पक्ष राष्ट्रलाई सम्मुनत र बिकासित बनाउने कुरामा एकढिक्का भई बिदेशी मित्र राष्ट्रहरु समक्ष छाती चौडा गरि अगाडी बढ्न सक्नु नै रामराज्यको प्रतीक हो ।यस अर्थमा के भन्न सकिन्छ भन, आफ्नो मातृभुमी प्रतिको अथाह माया,प्रेम,सद्भाव,ईमान्दारिता,अनुशासन र धैर्यताको मिश्रित रुपनै राष्ट्रियता हो।

 

राष्ट्र प्रतिको माया मात्र राष्ट्रियता नभई जनता र नेताको बफादारिता पनि राष्ट्रियता भन्ने शब्दले बोकेको छ। हाल हाम्रो देश नेपाल मा भएका विभिन्न राजनीतिक परिवर्तनहरु पश्चात् देखिएको घटना र परिस्थितिले राष्ट्रियता भन्ने शब्दलाई छताछुल्ल पारिदिएको छ। फरक-फरक समयमा आउने , नेतृत्वतहको अस्थिर बक्तब्यले समग्र राष्ट्रबासिहरुको राष्ट्रियता प्रतिको बुझाईलाई अन्यौल बनाईरहेको छ ।कुनै समय राजा-महेन्द्र ,मदन भण्डारी र बिपि कोइराला लगायतका केही औलामा गन्न सकिने नेतृत्व तहको गोजिमा रहेको राष्ट्रियता आज सबैमिली बाडिचुडी छताछुल्ल पारेको भान भैरहेकोछ ।

 

बिदेशी नागरिकलाई नागरिकता बाड्ने, सिमा अतिक्रमण हुदा चुपचाप बस्ने र बिदेशिको गोटि बनी समग्र राष्ट्रलाई धराशायी तुल्याउने प्रयास र प्रयोगहरु चौतर्फी बढिरहेको छ । हामिलाई पक्कैपनी ज्ञान छ , चेतना छ कि, हामिले मानिआएका , पुजिआएका नेताहरु हरेक डिजाइन र काण्डहरुमा प्रयोग भैसकेकाछन् र हुने क्रममा छन् ।त्यसैले त हामी धरासायी राष्ट्रियता कसैले जोगाई दिन्छ कि भनी, कोहि बेला एक पत्रकारलाई जिम्मा लगाउछौ त कुनै बेला दुई-चार राजनीति बिश्लेषक र सरकारी कर्मचारीहरुलाई ।

 

वास्तबमा दोषी को छ ? राष्ट्रियता मजबुत बनाउने सवालमा के हामी नेपाली जनताको उत्तिकै भुमिका छैन र ! जनता राष्ट्र का प्रमुख गहना हुन् । राष्ट्रपति , प्रधानमन्त्री , मन्त्रीहरु वा सरकारी कर्मचारीहरु पनि जनता नै हुन् , उनिहरुलाई नियन्त्रण र प्रणालिगत निर्देशन गर्ने अधिकार कतै हामी प्रयोग गर्न त , भुलिरहेका छैनौ ! चर्को देशप्रेमको बिगुल फुक्ने सत्ता र शक्तिको आडमा आएपछि बिदेशि मालिकहरु समक्ष लम्पसार परि नदिनाला , ओखती , बिजुली लगायतका असर्फिहरु सौदागर्न तत्परता देखाउने तथाकथित राष्ट्रबादिहरुकै कारणले राष्ट्रियता धराशायी बन्न पुगेकोछ । आज निर्दोष बालिका बलात्कृत हुदा , भष्ट्राचार , महँगी र अनियमितताले सिमा नाघ्दा चुपचाप बस्नुभनेको , हामी सबैले चलिरहेको बिसंगतिलाई प्रोत्साहित गर्नु हो ।

 

त्यसैले, यदि हरेक क्षेत्र , हरेक वर्ग र संस्कृतीमा रहेका नागरिकले जनस्तरबाट निरन्तर खबरदारी गर्दै , लम्पसारबादी , भ्रष्टाचारि र अपराधीलाई कानुन बमोजिम घोक्रेठ्याक लाउन सक्यौ भने मात्रै धराशायी राष्ट्रियता जोगिएला ! नत्र त खै के होला र ! त्यसैले सबैजना आ-आफ्नो ठाउँबाट जागौ , उठौ , खबरदारी गरौ । राष्ट्रिय भावलाई एकताबद्ध भई जोगाऔ । अन्यथा तपाईं मेरो देश स्वदेश-पर्देश-परदेश हुँदै एकादेश बन्नु नपरोस् ।