संसदमा उठ्याे सवाल- ‘स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ’

राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

 

बिज्ञापन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता दिनानाथ शर्माले भारतको सीमा क्षेत्रमा रहेका र अन्य मुलुकमा रहेका नेपालीका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षणसमेत गराए। अहिलेको अधिवेशन नीति तथा कार्यक्रममा र बजेटमा केन्द्रित हुने स्पष्ट पारे।

 

उनले विश्वभर फैलिएको कोरोना महामारीका कारण विदेशमा श्रम गर्न गएका युवा रोजगारी गुमाएर नेपाल फर्कने भएकाले ती युवालाई लक्षित गरी बजेट र नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

 

उनले विदेशबाट फर्कने युवालाई सम्बोधन गर्ने गरी सरकारले समयमै उचित कदम चाल्न पनि ध्यानाकर्षण गराउनुभयो । यसैगरी, उनले नेपालमा कोरोना महामारी ठूलो रूपमा फैलन नपाएको अवस्थाको चित्रण गर्दै सरकारको प्रशंसा गरे ।

 

नेपाली काँग्रेसबाट संसदीय दलका नेता राधेश्याम अधिकारीले भारत र अन्य मुलुकबाट स्वदेश फर्कन चाहिरहेका नेपाली नागरिकलाई व्यवस्थित रूपमा नेपाल ल्याउन सरकारसँग माग गरे । कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव भइरहेको उल्लेख गर्दै उनले भने, “प्रतिकूल अवस्थामा औषधिलगायत आवश्यक सामग्री छिटो उपलब्ध गराइयोस् । ”

 

जनता समाजवादी पार्टी नेपालका नेता प्रमिला कुमारीले कोरोना महामारी रोकथामका लागि धेरै देशले नयाँ कानुन बनाएको सन्दर्भ जोड्दै नेपाल सरकारले कानुन बनाउनुपर्ने धारणा व्यक्त गरे । याे खबर गोरखापत्र दैनिकमा छ ।