प्रदेश १ को बजेट अधिवेशन १३ जेठमा आह्वान गर्ने तयारी, दुरी कायम गराउन समस्या

प्रदेश नं. १ को वर्षे अधिवेशन (बजेट अधिवेशन) आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको छ ।

 

बिज्ञापन

सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरुसँग छलफल चलाएका छन् । उनीहरुको रायअनुसार वर्षे अधिवेशन आगामी जेठ १३ गते बस्ने गरी आवश्यक तयारी भइरहेको सभामुख भण्डारीले जानकारी दिए ।

 

‘आगामी जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने बाध्यतामा हामी रहेका छौं,’ सभामुख भण्डारीले भने, ‘त्यसका लागि आवश्यक समय र तयारीका लागि १३ जेठमा अधिवेशन आह्वान गर्ने निष्कर्षसहित आवश्यक तयारी थालेका छौ ।’

 

असार एक गतेसम्म प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले १५ देखि २५ जेठसम्म बजेटमाथि प्रदेश सभामा छलफल गर्ने कार्यसूची छ ।

 

बैठक कक्षको समस्या

 

कोरोना संक्रमणको जोखिम रहेकाले प्रदेश सभाको बैठक बसाल्दा सांसदहरुबीच दुरी कायम गराउनु पर्ने छ । तर, हालको बैठक कक्ष साँघुरो भएकाले कसरी बैठक सन्चालन गर्ने समस्या देखिएको छ ।

 

अन्यत्र बैठक गर्दा पनि प्रदेशसभा सचिवालयको प्रशासनिक संयन्त्र, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रमुख विपक्षी दलको नेतालगायतको कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो गर्दा खर्चिलो र समय पनि धेरै लाग्ने हुन्छ ।

 

अहिलेकै हल प्रयोग गर्ने बाध्यतामा प्रदेशसभा सचिवालय छ । ‘सत्तापक्ष र प्रतिपक्षका माननीयहरुले पनि अहिलेको प्रदेशसभा हललाई नै आवश्यक तयारी गरी बैठक चलाउन राय सुझाव दिनु भएको छ,’ सभामुख भण्डारीले भने, ‘केही साँघुरो भए पनि यही हलमा व्यवस्था गर्ने तयारी छ ।’

 

हालको बैठक कक्षमा रहेको दर्शकदीर्घा तथा सञ्चारकर्मी बस्ने कुर्सी हटाएर आधा सांसदहरुलाई बस्ने व्यवस्था गरिने र आधालाई सचिवालयको माथिल्लो तलाको हलमा डिजिटल स्त्रिmन राखेर सहभागी गराइ बैठक सन्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रदेश १ मा ९३ जना सांसद छन् ।

 

प्रदेशसभा साबिकको जिल्ला विकास समिति मोरङको हलमा सन्चालित छ । त्यहाँ सांसदको लागि ९२ कुर्सी छन् । दर्शकदीर्घामा ३० र पत्रकारहरुको लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको छ ।

 

कोरोना भाइरस संक्रणको जोखिमका कारण प्रदेश १ को हिउँदे अधिवेशन छोटो समय मात्रै सन्चालन भएर स्थगित गरिएको थियो ।