
काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै अहिलेसम्म एउटा पनि क्वारेन्टाइन छैन ।




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा अहिलेसम्म १६ जनामा कोरोना देखिएको बताएको छ । काठमाडौंबाहिरका भनिएका थप १४ जना पनि यहिँ बस्ने गरेको पाइएको छ ।

तर, संक्रमितसँग सम्पर्क भएकाहरुलाई पहिचान गरी राख्नका लागि काठमाडौंमा अहिलेसम्म एउटा पनि क्वारेन्टाइन छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा १ लाख २ हजार ७ सय जनालाई राख्ने क्षमता छ । तर, देशकै राजधानी काठमाडौंमै अहिलेसम्म एउटै क्वारेन्टाइन छैन । यसरी काठमाडौंमै कोरोना संक्रमित बढ्दै जानु र उनीहरुको सम्पर्कमा आएकालाई राख्ने क्वारेन्टाइन नहुनुले गम्भीर प्रश्न उठेको छ ।
काठमाडौंका विभिन्न स्थानमा बस्ने ३० जनामा संक्रमण भए पनि उनीहरुसँग सम्पर्क भएकाहरु आफैं अलग्गै बस्दै आएका छन् । महामारी फैलिएका जिल्लाबाट काठमाडौं आएकाहरुलाई पनि बिना परीक्षण घर–घरमा जान दिइएको छ ।
त्यसरी आएका र संक्रमितसँग सम्पर्क भएकालाई राख्ने क्वारेन्टाइनको व्यवस्था गर्न महानगरले ध्यान दिएको देखिदैन ।
स्थान र स्वास्थ्यकर्मीको अभाव देखाएर महानगरले क्वारेन्टाइन निर्माणको जिम्मेवारीलाई बेवास्ता गर्दै आएको छ ।
महानगरपालिका प्रमुख हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिमा क्वारेन्टाइनको व्यवस्था नगरेको बताएकी छन् ।‘क्वारेन्टाइन राख्ने वातावरण काठमाडौंमा मिलाएका छैनौं । मिलाएको भए पो त्यहाँ राखै भन्ने कुरा हुन्छ । यो नहुँदा काठमाडौं महानगपालिकामा क्वारेन्टाइन राख्न गाह्रो भयो ।’सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख खड्कीले भेन–‘३१ जना सफाइ कर्मचारीमा कोरोना संक्रमण देखा पर्यो । उनीहरुलाई राख्न क्वारेन्टाइन भएन । र वातारणमै ४–५ वटा कोठा तयार परेर त्यहाँ राख्नु पर्ने भयो ।’
एक साताअघि महानगरकै ३१ कर्मचारीमा द्रूत परीक्षण गर्दा संक्रमणको संकेत देखिएको थियो । क्वारेन्टाइन नभएका कारण पीसीआर परीक्षणको नतिजा नआएसम्म उनीहरुलाई वातावरण विभागको भवनमा राखेर व्यवस्थापन गरिएको थियो । यसबाट पनि महानगरले पाठ सिकेको छैन ।
जबकि उपत्यका बाहिरका स्थानीय तहले अन्यत्रबाट आउनेलाई गाउँ बस्तीमा पस्न नदिइ क्वारेन्टाइनमा राख्ने गरेका छन् । तेस्रो मुलुकमा अप्ठेरोमा परेका २५ हजारभन्दा बढी नेपालीलाई सरकारले सक्दो चाँडो स्वदेश ल्याउने भनिरहेका बेला काठमाडौं उपत्यकामै क्वारेन्टाइन नहुनुलाई मन्त्रालयले पनि स्वाभाविक ठानेको छैन ।
बाहिरबाट आउनेलाई नाकामै परीक्षणको माग गर्ने उपत्यकाका स्थानीय तहले क्वारेन्टाएइन निर्माणमा बेवास्ता गरेका छन् ।