झापा बिर्तामोडका प्रहरी प्रमुख डिएसपी खड्का बिवादमा, खड्का छानबिनमा

झापा — इलाका प्रहरी कार्यालय बिर्तामोडका विवादित डीएसपी सुवास खड्कामाथि प्रदेश प्रहरी कार्यालय विराटनगरले छानबिन गर्ने भएको छ । म्यानपावर व्यवसायी हर्क गुरुङले फेसबुकको ‘माइ डे’ मा डीएसपी बस्ने कुर्सीमा बसेको फोटो हालेपछि उनी विवादमा तानिएका हुन् ।

यस अघि गत वैशाख २ गते मेचीनगर ६ का १५ वर्षीय किशोर किरण कार्कीडोलीको हिरासतमा मृत्यु घटनाका कारण पनि डीएसपी खड्का विवादित थिए।

बिज्ञापन

हिरासतमा किशोर मृत्यु घटनामा राजनीतिक दलहरूको धापका कारण कारबाहीबाट बचेका खड्का ‘कुर्सी काण्ड’पछि भने प्रदेश प्रहरी कार्यालय विराटनगरले तानेको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले डीएसपी खड्कालाई थप अनुसन्धानका लागि विराटनगर बोलाइएको बताए।

उनका अनुसार ‘कुर्सी काण्ड’ मात्रै नभएर अन्य आन्तरिक कारणहरूले उनलाई छानबिनका लागि तानिएको जनाए। किरण कार्कीडोली हिरासतमा मृत्यु काण्डपछि प्रदेश प्रहरीले एक छानबिन समिति निर्माण गरेको थियो। त्यो काण्डका कारण पनि डीएसपीलाई तानिएको हुन सक्ने अनुमान छ।

डीआईजी रिजालले भने,’ डीएसपीलाई तान्नुका पछाडि कुर्सी काण्ड मात्रै होइन, अन्य कारणहरू पनि छन्।’ म्यानपावर व्यवसायी गुरुङलाई प्रहरीले शनिवार पक्राउ गरेको छ।