संसार कोरोनामुक्त बनाउने भन्दै देवी मन्दिरमा मानव बलि

नयाँदिल्ली: भारतको कट्टकमा रहेको ब्राह्मणी देवी मन्दिरमा पुजारीले ५२ वर्षीय एक पुरुषको टाउको काटेर बलि दिएका छन् ।

 

बिज्ञापन

हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना उजागर भएको हो । बलि दिइएका मानिस सरोज कुमार प्रधान भएको र उनी बन्धाहुदा गाउँका निवासी भएको प्रहरीले पत्ता लगाएको छ ।

 

ती मृतक मन्दिरमा मालीको काम गर्थे र ओझासँग एउटै कोठामा बस्ने गरेको बताइएको छ । कोरोना भाइरस महाव्याधिका विषयमा प्रधानसँग विवाद परेपछि ओझाले शुक्रवार बिहान १ बजे हत्या गरेको प्रहरी उपरीक्षक राधाविनोद पाणिग्रहीले बताए ।

 

ओझाले साबिती बयान दिने क्रममा कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको बताए । पुजारीले हँसिया प्रयोग गरेर प्रधानको टाउको छिनालेको प्रहरीको भनाइ छ ।

 

प्रहरी उपरीक्षकले भने,‘ती दुवै व्यक्तिले राति गाँजा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,’ प्रहरीको टोली घटनास्थलमा पठाइएको र उनीहरूले घटनास्थलबाट अवश्यक नमूनाहरू संकलन गरेको उनको भनाइ छ ।

 

मृत शरीरलाई पोस्टमोर्टमका लागि पठाइएको छ । ओझालाई पक्राउ गरिएको छ र उनको स्वास्थ्य परीक्षण गरिएको छ । लकडाउनका कारण लामो समयदेखि मन्दिरमा कोही पनि गएका छैनन् । त्यहाँ ओझा र प्रधान मात्र बस्ने गरेको एक गाउँलेको भनाइ छ ।