
एक साताअघि प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत पुरुष जोर्ज फ्लोइडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेका छन् । फ्लोइडको गृहनगर ह्युसटनमा भएको ¥यालीमा करिब ६० हजार मानिसहरू सहभागी भएको अनुमान गरिएको छ । फ्लोइडको मृत्युलाई लिएर सातौँ दिन पनि प्रदर्शनहरू भइरहँदा वासिङ्टन र न्यूयोर्कसहित ४० भन्दा बढी राज्यहरूमा कर्फ्यू लगाइएको छ ।




हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू लगाइएको छ । तर पनि प्रदर्शनकारीहरू कर्फ्यू तोडेर प्रदर्शनमा सहभागी भएका छन् । कर्फ्यूको समय सुरु भइसक्दा पनि कतिपय ठाउँमा प्रदर्शनकारीहरू सडकबाट हट्न मानेका छैनन् ।

यसैबीच अमेरिकाका महान्यायाधिवक्ताले वासिङ्टनमा सुरक्षा व्यवस्थाका लागि मंगलवार राति थप सुरक्षाकर्मीहरूलाई खटाइने बताएका छन् । त्यहाँ सुरक्षाका लागि १,६०० सेनालाई विभिन्न सैनिक आधार केन्द्रहरूमा विमानमार्फत ल्याइएको छ । रक्षा मन्त्रालयले सेना उच्च सर्तकतामा रहेको बताएका छन् ।
ती सैनिकहरू क्यालिफोर्निया र न्यूयोर्कबाट ल्याइएका र राजधानी प्रदेशमा राखिएका छन् । रक्षामन्त्री मार्क इस्परले सैनिक ल्याउन स्वीकृति दिइसकेका छन् । केही स्थानमा भने प्रहरी र सैनिकहरूले प्रदर्शनकारीसँग ऐक्यबद्धता जनाएर उनीहरूलाई शान्त राखेका छन् ।