
पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका १ युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।
उनी यही ९ जेठमा भारतको मुम्बइबाट आएका थिए । बुधबार साढे ४ बजे आरडीटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए ।
स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ । इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राती १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो ।
ती युवालाई घरदेखि ४ सय मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टाइन राखिएको थियो । रासस