उद्दारको माग राख्दै यूएई दूतावस घेराउ गर्न पुगे अलपत्र नेपाली

युएई- कोरोनाभाइरसका कारण भएको लकडाउनले लामो समयदेखि संयुक्त अरब इमिरेट्स युएईमा अलपत्र नेपालीहरुले आइतवार अबुधावीस्थित नेपाली दूतावास घेराउ गरेका छन् ।

सरकारले आफूहरुको उद्धारमा ढिलाइ गरेकाे प्रति आक्राेश पोख्दै उनीहरुले‌ तत्काल स्वदेश फर्किने वातावरण मिलाउन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्।

स्थानीय समयअनुसार आइतबार बिहान ठूलो संख्यामा नेपालीहरु दूतावासको मुल गेटमा पुगेपछि स्थानीय प्रहरीले उनीहरुलाई तितरवितर बनाएको थियो।

अलपत्र नेपाली कामदारहरुले आफ्नो समस्या राख्न दूतावासमा गएका बेला उनीहरुमाथि राजदूतले स्थानीय प्रहरी लगाएर लखेटेको पीडितहरुको आरोप छ।

दूतावासका एक अधिकारीले ठूलो सख्यामा नेपालीहरु दूतावास परिसरमा जम्मा भएको स्थानीय प्रहरीले देखेपछि हुलदंगा नगर्न र सामाजिक दूरी कायम गर्न मात्रै आएकाे बताए ।

दूतावासले युएईमा रहेका नेपालीहरुलाई नेपाल सरकारको प्राथमिकता अनुसार स्वदेश फर्काउने अन्तिम चरणमा पुगेकोले धैर्य रहन सबैमा अनुरोध गरेको छ।