
काठमाडौं । चकलेटको भन्सारका सम्बन्धमा अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएका छन् । मंगलबार अर्थ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले चकलेटको भन्सारका सम्बन्धमा लगाइएका आरोप निराधार भएको दाबी गरेका छन् ।

खतिवडाले चकलेटको अघिल्लो वर्ष बढाइएको बजेट यो वर्ष फेरि समायोजन मात्रै गरेको बताए । ‘एउटा कुरा के हो भने २०७१/७२ सालदेखि सो वस्तु (चकलेट) को भन्सार दर ३० प्रतिशत थियो, पोहोर हामीले केही वस्तुको मूल्य समायोजन गर्ने क्रममा ४० प्रतिशत माथि पुगेको हो, त्यसलाई अहिले फेरि समायोजन गरेर ३० प्रतिशतमा झारिएको हो ।’



उनले यस्तो चकलेट १२३ फर्मले आयात गर्ने प्रतिस्पर्धी वस्तु भएकोले यो कुनै व्यवसायीलाई हेरेर त्यस्तो नगरिने उनको भनाई थियो । त्यो अर्बौंको आउने चिज नभएको उनको दाबी थियो । खतिवडाले सीमा नाकामा हुने चोरी पैठारीलाई रोक्न त्यसरी भन्सार दर घटाइएको समेत बताए ।

राजीनामा मागियो
विद्युतीय गाडीमा भन्सार बढाएर चलखेल गरेको भन्दै अर्थमन्त्रीको राजीनामा मागिएको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विद्युतीय गाडीमा अर्बौं घोटाला भएको अवस्थामा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।
‘रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए, विदेशी बैंकमा डलर जम्मा गरेका कारण नेपालका अर्थमन्त्री रामशरण महतले राजीनमा दिएका थिए, यो विद्युतीय गाडीमा अर्बौं घोटाला भएको छ, अर्थमन्त्रीले राजीनामा दिनुपर्छ । किन राजीनामा नदिनुभएको ?’ सुवालको प्रश्न थियो ।
उत्तरमा खतिवडाले यसरी अर्थमन्त्रीले राजीनामा दिँदै जाने हो भने कुनै पनि अर्थमन्त्रीलेबजेट पास गर्नै नपाउने बताए । ‘विनियोजन विधेयक र अर्थ विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्रीले राजीनामा दिने हो भने कुनै पनि अर्थमन्त्रीले बजेट पास गर्नै पाउँदैन ।
माननीय सदस्यज्यूले अभिप्रायमा भन्नुभएको हो ? सरकारको प्रस्तावमा हुन्छन् यी सबै’, खतिवडाले भने , ‘अहिले बजेट पास गर्नै नपाउँदै बोल्यौं भने हामी संसदमा विचाराधिन हरेको विषयमा हामीले पूर्वनिर्णय गर्दैछौं, त्यो नगरिदिनुहुन अनुरोध गर्दछु ।’