यस्तो छ ५१ दिने लकडाउनको मोडालिटी, आजबाट खुला रहने यी २१ क्षेत्र

काठमाडौं : सरकारले लकडाउनको ८० दिनपछि तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन चरण लकडाउन खोल्ने नीति अपनाएको हो । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई सरकारले तीन चरणमा सीमित राखेको छ ।

बिज्ञापन

बैठकले पहिलो चरणमा अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ ।

खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

बैंक, वित्तीय संस्था, सबै कार्यालय (सरकारी–गैर सरकारी) मा आधा मात्र कर्मचारी राख्न सरकारले निर्देशन दिएको छ ।

त्यस्तै आजबाट जोर–विजोर नम्बर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न अनुमति दिने सरकारले जानकारी गराएको छ ।

आजबाट खुला रहने २१ क्षेत्र

 स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत

 औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री–वितरण तथा ढुवानी

 पेट्रोलियम पदार्थको ढुवानी र बिक्री–वितरण

 फोहोरमैलाको व्यवस्थापन

 विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा

 बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा

 कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य,

 उत्पादनशील उद्योग

 निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय

 विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)

 निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत)

 नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण

 रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

 क्वारेन्टिनका लागि तोकिएका होटल

 बिजुलीका सामान बिक्री र मर्मत

 विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप

 पुस्तक पसल तथा स्टेसनरी

 सबै प्रकारका ढुवानी सेवा

 अत्यावश्यक सेवाका सबै कार्यालय

 अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र (बैंक तथा वित्तीय संस्थाहरूमा आधार कर्मचारी रहनेगरी)

सरकारले यसबाहेकका क्षेत्रमा भने बन्दाबन्दी कायम राख्ने निर्णय गरेको छ ।

 शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र

 सपिङ मल, डिपार्टमेन्टल स्टोर

 सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल

 अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान

 तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत (भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ )

 सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि

 २५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि

 सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

 व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र

 समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति

 अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु गर्ने

पहिलो चारणको २१ दिनको स्थिति हेरेर थप १५ दिनसम्म क्षेत्र खुला गर्ने निर्णय बैठकले गरेको छ ।

जसमा सरकारी, गैर सरकारी, निजी कार्यालय, बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी राखेर खोल्ने दिने तयारी सरकारको छ ।

साथै रिक्सामा एक जना यात्रु राखेर चलाउन पाइने छ । ट्याक्सी सेवाले पनि चालकबाहेक दुईजनासम्म यात्रु राखेर चलाउन पाउने, रेस्टुरेन्ट, खाजा घरले ग्राहकबीच दुई–दुई मिटरको दूरी कायम गरेर सेवा सञ्चालन गर्न सक्ने छन् ।

तेस्रो चरणमा सबै सरकारी, गैर सरकारी, निजी कार्यालय पूर्णतः खुला गर्ने, सेवा प्रवाह सुचारु गर्ने नीति सरकारले अख्तियार गरेको छ । सङ्क्रमणको जोखिम मूल्याङ्कन गरेर सयभन्दा कम सक्रिय केसहरू रहेको ठाउँमा अन्तर–जिल्ला आवागमन खुला गर्ने सरकारको तयारी छ ।

त्यही चरणमा सार्वजनिक सवारी खुला हुनेछन् । तर सिटभन्दा बढी यात्रु राख्न पाउने छैनन् । आन्तरिक हवाइ उडान, होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्र, पर्वतारोहण आदि क्षेत्र खुला हुनेछन् ।

साथै अन्तर्राष्ट्रिय उडानतर्फ पनि बुकिङ खुला गरिनेछ भने शिक्षण संस्था परीक्षा प्रयोजनका लागि खुला गरिनेछ ।

त्यसोत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा विद्यालयकै जिम्मामा छाड्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनमार्फत ग्रेडिङ तोक्न निर्देशन दिएकाले त्यही चरणमा परीक्षा सुरु गर्ने सरकारको तयारी छ ।

बैठकको विस्तृत जानकारी आज (बिहीबार) दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि जानकारी दिइने छ ।