
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी महाशाखाले यातायात सञ्चालनका सम्बन्धमा आफूखुशी प्रेस विज्ञप्ति जारी गरेको तथ्य खुलेको छ ।
गृह मन्त्रालयले थप सर्कुलर जारी नगरे पनि उपत्यका ट्राफिक प्रहरी महाशाखाले आफुखुशी प्रेस विज्ञप्ति जारी गर्दै सवारी सञ्चालनका सम्बन्धमा निर्णय गरेको हो ।
बिहीबार राति १० बजे ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले मोटरसाइकललाई पनि जोरबिजोर प्रणाली लागु हुने भन्दै त्यही सूचना जारी गर्दै विभिन्न मिडियाहरुलाई अन्तरवार्ता दिएका थिए ।
तर मन्त्रिपरिषद् वैठकले मोटरसाइकललाई जोर विजोर लाग्ने कि नलाग्ने भन्ने सम्बन्धमा स्पष्ट नबोले पनि मोटरसाइकल र साइकलमा एकजना मात्रै चढ्न मिल्ने ब्यहोरा बुँदा नम्बर २ को च मा उल्लेख गरेको छ । त्यसैगरी बुँदा नम्बर ६ मा जोर विजोर प्रणालीको कुरा गरिएको छ । त्यहाँ चालकबाहेक अन्य २ जनामात्रै चढ्न पाउने कुरा उल्लेख गरिएको छ । यसको अर्थ मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने र निजी सवारीमा २ जनाभन्दा बढी चढ्न नपाउने गरी जोर विजोर प्रणाली लागू भएको स्पष्ट छ ।
काठमाडौंका सिडिओ भन्छन् : पुरानो पास जारी रहन्छ, मोटरसाइकलको हकमा थप व्याख्या भएको छैन
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार मोटरसाइकललाई जोर विजोर लागू हुने कि नहुने भन्ने सम्बन्धमा अहिले कुनै निर्णय वा निर्देशन भएको छैन । उनले भने, ‘काठमाडौैँको प्रजिअ म हुँ । मैले मोटरसाइकललाई जोर विजोर लाग्ने कि नलाग्ने भन्ने सम्बन्धमा कुनै निर्देशन दिएको छैन । मलाई गृहबाट थप स्पष्ट पार्दै सर्कुलर पनि आएको छैन । ट्राफिकलाई थप सर्कुलर जारी भएको भए मलाई थाहा भएन । तर मन्त्रीपरिषद्को सैद्धान्तिक विषयमा मोटरसाइकललाई जोर विजोर नलाग्ने भन्ने बुझिन्छ ।’
पुरानो पास यथावत रहने
काठमाडौँका प्रमुख जिल्ला अधिकारीले अर्को निर्णय नभएसम्म यसअघि जारी भएका पुराना पासहरु यथावत नै रहेको जानकारी दिए । मन्त्रीपरिषद्को निर्णयमा पनि पुरानो पासको सम्बन्धमा केही कुरा गरिएको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि पास खारेज हुने निर्णय गरेको छैन । अब अरु कुनै निकायले खारेज गर्यो भन्छन् भने त्यस सम्बन्धमा कुरा हुन्छ । किन त्यसो भनिएको हो, त्यसको पनि छानबिन हुन्छ । आफुखुशी व्याख्या गर्ने भन्ने कुरा हुँदैन ।’