पूर्वमन्त्री मातृका यादवका भाईसहित ७ जनाविरुद्ध किटानी जाहेरी

जनकपुरधाम : धनुषाको सबैला नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका शम्भु सदाकी आमाले पूर्वमन्त्री मातृका प्रसाद यादवका भाईसहित ७ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी लिन अस्वीकार गरेपछि शम्भुकी आमा सियालीदेवी सदाले जिल्लास्थित सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएकी हुन् ।

 

शम्भुकी आमा सियालीदेवीले पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवका भाई कारी यादव, इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव,सबैला नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष पारस साह, वडा नम्बर–३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर–४ बस्ने राजकुमार यादव,वडा नम्बर–३ बस्ने कालीप्रसाद साह र ट्याक्टर साहु सञ्जय साहविरुद्ध सरकारी वकिलको कार्यालय जनकपुरमा किटानी जाहेरी दिएकी छन् ।

 

सियालीले आफ्नो छोराको हत्या उनीहरुकै संलग्नतामा हिरासतभित्रै गरिएको भन्दै ज्यान मुद्दामा कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता गराएकी छन् । उनले दिएको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायब सुब्बा विनोद सुवेदीले जानकारी दिए ।

 

ट्याक्टर मालिक संजय साहको इसारामा शम्भुको प्रहरी हिरासतभित्रै हत्या गरिएको परिवारको आरोप छ । हिरासतभित्र शम्भुको हत्या गरेर आत्महत्याको रुप दिइ घटना भएलगत्तै वडाध्यक्षलगायतका व्यक्तिहरुसँग मुचुल्कामा सही गर्न लगाइएको शम्भुकी आमा सियालीदेवीसहित आफन्तहरुको आरोप छ । सियालीदेवीले आफूलाई बेहोस पारेर प्रहरीले जबरजस्ती मुचुल्कामा औँठाछाप गर्न लगाएको समेत दाबी गर्दै आइरहेकी छन् ।

 

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जिकिर गरिएको छ । सवारी ज्यान मुद्दामा हिरासतमा रहेका २३ वर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र गत जेठ २७ गते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

 

उनले चलाएको ट्याक्टरले जेठ १२ गते गाउँकै ५४ बर्षिया एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिए । जाहेरी दर्ता नभएसम्म पीडित परिवारले पोस्टमार्टमसमेत गर्न दिन मानेको थिएन ।

 

शम्भुको हत्या भएको भन्दै उनका परिवारका साथै दलित संवद्ध संघसंस्थाहरु सबैलाका साथै जनकपुरमा समेत निरन्तर प्रदर्शन गरिरहेको छ ।