बजेट ल्याउँदा सुकुलगुण्डालेझैँ डम्फू फुक्ने, अहिले पछुताउने ?: अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

 

बिज्ञापन

बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक सङ्कट आउन सक्छ भनेर बेलैमा सजग गराउँदा पनि सरकारले सुझाव नसुनेको राणाको भनाइ छ ।

 

‘बजेट पेस हुनु अगावै मैले सरकारलाई अब आउने सङ्कटबारे सचेत गराएको थिएँ । बन्दाबन्दीका कारण भन्सारबाट उठ्ने राजस्व घट्छ भनेकै थिएँ । राजस्वको मूल स्रोत सुकेपछि पर्ने सङ्कटबारे सरकारलाई सजग रहन आग्रह गरेको थिएँ’, उनले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘तर, बजेटले त्यो गम्भीर समस्या बेवास्ता गर्‍यो, देश टाट पल्टाउने बिउ रोप्यो ।’

 

विकसित घटनाक्रमप्रति टिप्पणी गर्दै राप्रपा अध्यक्ष राणाले भनेका छन्, ‘राज्य सञ्चालनको मासिक आवश्यकता ४० अर्ब रुपैयाँ छ । भन्सारबाट १५ अर्ब, आन्तरिक राजस्वबाट केही अर्ब मात्र सङ्कलन हुने अवस्था छ ।’

सरकारकै असावधानीका कारण समस्या गम्भीर बनेको भन्दै उनले भनेका छन्, ‘यसैले ठूलो आर्थिक सङ्कट सामना गर्नुपरेको भन्दै अर्थमन्त्री बिलौना गर्दै छन् । बजेट ल्याउँदा सुकुलगुण्डा तवरले डम्फु फुक्ने, अहिले समय घर्केपछि पछुताएर काम छैन ।’