
काठमाडौं । नेकपाका सांसदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचार आरोप लगाएका छन् ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनु भएको हो ।
कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए–नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो ।
घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराउनुभयो । उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।
यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गर्नुभएको छ ।