
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज (बिहीबार) क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान भएका छन् ।

सन्दीप १० बजे कोरियन एयरमार्फत अमेरिकाहुँदै अगस्ट १ मा टोबागो पुग्ने छन् । सीपीएल टीम जमैका तहल्लाबाजबाट यो सिजनमा सन्दीप मैदान उत्रिनेछन् । जसका लागि उनले १ करोड ३० लाख रुपैयाँ पारिश्रमीक पाउनेछन्।



लामिछाने त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नेछन्। सीपीएलमा सहभागी हुनु अगाडि नेपालमा उनले मंगलबार कोरोना परिक्षण गराएका थिए। सानेपास्थित स्टार अस्पतालमा कोरोना जाँच गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै आज उनी त्यसतर्फ प्रस्थान भएका हुन् ।

सन्दीप यो वर्षको सीपीएल जमैका तल्लावाजबाट खेल्नेछन् सीपीएल अगस्ट १८ बाट सेप्टेम्बर १० सम्म हुनेछ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।
सीपीएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।
सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।
उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए।