
झापा: तस्बिरमा समेटिएको दृश्य गौरादह नगरपालिकाको मुटु नै मानिने स्कुलचौन बजार नजिकै को हो । स्कुलचौन बजारबाट करिब २ सय मि. दक्षिण । अद्वैत चोक बाट पुर्व ५ सय मिटर लामो सडक रहेको छ जसले डोरामारी जाने सडकलाई जोड्छ।

उक्त सडक वडा नं. ४ र ५ सिमानामा रहेकोे छ । उक्त सडक दुईवटा वडाको सिमानामा परेकै कारण उपेक्षामा परेको स्थानीयहरु बताउछन् । उक्त सडकको सबै भागमा अहिले गहिरो र हिल्लाम्मे खाडल परेको छ । जिर्ण अवस्थामा रहेकोे सडकको खाल्डो पार गर्दै स्थानीयहरु ओहोर दोहोर गर्दाको दृश्य कारुणिक छ । बालबालिका, बृद्ध वृद्वाहरु अत्यन्तै कठिनपुर्ण यात्रा गर्न बाध्य छन् । सोही सडकमा साइकल काधमा बोकेर हिडेका एक युवाले ओमकार प्रतिनिधि संग भने, ‘तपाईं अहिले आइपुग्नु भयो, मैले साइकल काधमा बोकेर हिडेको भनें १ दशक बितेको छ, चुनावमा भोट माग्न आएका मानिसहरू बाहेक गाउँ घुम्न कोहि आउदैनन् ।’



८/९ वटा घर रहेको उक्त सडक २०३४ सालको नक्सामा मुख ७० फिट चौडा तथा बिचको भाग ५० फिट रहेकोे स्थानीयको भनाइ छ । लामो समय सम्म राज्यको नजर बाट टाढा रहेको उक्त सडक स्थानीय केही जग्गाधनीले अतिक्रमण गरेपछी हाल अत्यन्तै सांघुरो भएको स्थानीयको भनाइ छ ।

‘हामी सवै नयाँ मान्छे, हाम्रो कुरा कसैले सुन्दैनन्, वडाध्यक्षहरु आउछन् जान्छन्, हेर्ने कोहि भएन सारै दुख पाइयो’, एक स्थानीयले दुखेसो पोख्दै सुनाए । नगरपालिका बनेको ५ वर्ष बित्न लाग्दा र जनप्रतिनिधि भएको ३ वर्ष पूरा हुदा समेत एक रुपैयाँ बजेट पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको स्थानीय समाजसेवी युवा चित्र सुवेदी बताउँछन् । ‘बारम्बार जानकारी गराउदा र पहल गर्दा समेत सुनुवाइ नभएपछि स्थानीयहरु आजित छन्’, सुबेदीले भने ।