
दमक। झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ सय १२ पुगेको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा भापाको कमल गाउँपालिकाका–५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी गत असार २६ गते साउदी अरबबाट स्वदेश फर्किएका र २७ गतेबाट कमल गाउँपालिकाको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । असार ३१ गते स्वाब संकलन गरी पठाइएका २६ जना मध्ये एक जनामा मात्र संक्रमण देखिएको कमलको क्वारेन्टाइनमा खटिनु भएका इन्द्र अर्यालले जानकारी दिनुभयो ।



वहाँका अनुसार २१ पुरुष र ५ महिलाको स्वाब संकलन गरी पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएकासँग बस्दै आएका अन्य ७ जना र पछि आएका ६ जनाको आज स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको पनि अर्यालले जानकारी दिनुभयो । कमलमा योसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ पुगेको छ । यसअघि कमल–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना जितेर घर फर्किसकेका छन् ।
