
काठमाडौं–राष्ट्रिय ट्रमा सेन्टरको २ सय ७ नम्बरको आइसीयु वेड अन्य दिनमा भन्दा फरक थियो। वेडभरी रंगिचङ्गी बेलुनहरू। भित्तामा ‘ह्याप्पी बर्थ डे’ लेखिएको रंगीन सजावट। बैशाख २५ गतेदेखि आइसीयुको वेडमा अक्सिजनको साहरामा बाँचीरहेकी ४ वर्षीया एक बालिकाको जन्मदिन मनाउन अस्पतालका कर्मचारीले यो सजावट गरेका थिए । बुधबार दिउसो २ बजे आइसीयु वार्डका नर्सहरू ती बालिकाको जन्मदिनलाई विशेष बनाउने प्रयास गर्दै थिए ।

मुखमा अक्सिजन लगाएर वेडमा सुति रहेकी ४ वर्षीया बालिकाको मनले बेलुन छुने चाहना राखेपनि हात उठाउन सक्ने अवस्था थिएन। सौतेलो बाबुले बलात्कार र कुटपिट गरेपछि बैशाख २५ गतेदेखि उनी ट्रमा सेन्टरको आइसीयुमा उपचाररत छिन। छोरीको अस्प तालमा भर्ना हुँदा देखि नै ट्रमा सेन्टरमा टोलाउँदै दुखी बनेकी बालिकाकी आमा रमा (नाम परिवर्तन) अस्पतालले आइसीयु मै छोरीको जन्मदिन मनाइदिँदा खुसी भइन्। छोरी उठ्न समेत नसक्ने अवस्थामा रहेकाले छोरीको जन्मदिनको केक पनि रमाले नै काटिन् ।



‘आज मेरो छोरीको जन्मदिन, आइसियुमै सर म्यामहरूले जन्मदिन मनाइदिनु भयो, छोरीले हात पनि चलाउन सक्ने अवस्थामा छैन त्यसैले छोरीको केक मैले नै काटेँ’ रमाले खबरहबसँग भनिन, ‘छोरीको जन्मदिन मनाउँदा खुसी लाग्यो, अब छिट्टै निको भइदिए हुन्थ्यो ।’ छोरीको स्वास्थ्य अवस्थाका कारण ट्रमा सेन्टरमा टोलाउँदै बस्ने रमाको अनुहारमा आज खुसी देखिएको थियो । वेडमा सजाइएका बेलुनहरूमा आँखा डुलाइरहेकी थिइन् उनले ।
