आइतबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भइरहेको छ।

साथै, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।