इटहरीमा सय बेडको आइसोलेशन सञ्चालनमा ल्याउने तयारी 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुनसरीको इटहरीमा १ सय बेडको आइसोलेसन निर्माण हुने भएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले इटहरी–९ स्थित रंगशालामा निर्माण भइरहेको आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
इटहरीमा कोरोना संक्रमित बढ्दै गएकाले लक्षण नदेखिएका संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

बिज्ञापन

खानेपानी, विद्युत लगायतका विभिन्न निकायहरूको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र सञ्चालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसंस्था र दाताहरूसँग सहयोगको आग्रह गरिएको छ ।

बैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फबाट तीन महिनाका लागि खाद्यान्न सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गोर्खा वेलफेयरले ५ सय लिटर क्षमताको पानी ट्याङ्की जडान गरिदिएको छ । आइसोलेसन सञ्चालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी वडाध्यक्ष भूपेन्द्र बरालको संयोजकत्वमा वडाध्यक्षहरू चन्द्र भट्टराई, दीपक गौतम, शिव नारायण चौधरी, मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पीताम्बर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र र नेपाली सेनाका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।