स्वस्थानी व्रतकथा वाचन शैलीबाट कांग्रेस सांसद थापाले प्रतिनिधिसभामा सम्बोेधन

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखलाई सम्बोेधन गर्दै स्वस्थानी व्रतकथा वाचन गरेपछि सदनमा सन्नाटा छायो ।

 

बिज्ञापन

सदनमा अभिव्यक्ति दिँदा कहिले जिज्ञासामिश्रित, कहिले व्यङ्ग्य, कहिले प्रश्नात्मक र कहिले गर्जन शैलीमा प्रस्तुत हुने सांसद थापाले मंगलबार सदनको बैठकमा भने स्वस्थानी व्रतकथा वाचन शैलीबाट गरे ।

 

अभिव्यक्ति शैलीलाई फरकफरक ढंगले प्रस्तुत गर्ने थापाले सभामुखलाई सम्बोधनपछि आफ्ना विचार स्वस्थानी कथा वाचन शैलीमै सुरु र अन्त्य गरे ।

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शून्य समयमा बोल्न समय दिएपछि थापाले आफ्नो भनाइ राखेका थिए । थापाको अभिव्यक्तिको लक्ष्य के होला भनेर शान्तभावमा उनको आवाज सांसदहरूले सुन्दा सदनमा एक प्रकारको सन्नाटा नै छाएको थियो ।

 

युवानेता थापाको एक मिनेटको अभिव्यक्तिमा बालुवाटार जग्गा प्रकरणको विषयमा सार्वजनिक मतलाई प्रतिनिधित्व गरिएको थियो ।

 

यसो भने गगनले

 

माननीय सभामुख महोदय,

 

कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि । अब उप्रान्त कसैको चोरीको सामान किन्दा मुलुकलाई थाहा नहुने गरी किन्नू । थाहा पाइहाले होइन, होइन भन्नू ।

 

चित्त बुझ्न नसकेर अप्ठ्यारोमा पर्ने स्थिति आएमा हत्तपत्त चोरीको सामान फर्काउनू र दुई पटक विष्णुविष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएन भने गोकुलधाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु–विष्णु भन्नू ।

 

त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।

 

इतिश्री अख्तियार पुराणे कुमारविष्णु संवादे श्रीस्वस्थानी व्रत कथाए बालुवाटार प्रकरण वर्णनाम प्रथमोध्याय, धन्यवाद !