चीनसँगको झडपमा भारतीय सैनिक मेजरको मृत्यु

लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन । चीनले पनि यसबारे केही औपचारिक जानकारी दिएको छैन ।

२९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा भनिएको छ ।

यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए ।