
चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले कारबाही गरेको छ । बुधबार बिहान निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई कारबाही स्वरुप नेकपाले निलम्बन गरेको हो ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्वारा विहीबार विज्ञप्ती जारी गरी कारवाही स्वरुप निलम्बन गरेको जनाउनु भएको छ । त्यस्तै सोहि घटनमा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । घटनमा संलग्न सबैलाई कारवाही गर्ने र क्षतिपूर्ती भराउन माग गरेको समेत जारी विज्ञाप्तिमा जनाइएको छ ।
नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको पनि विज्ञाप्तिमा उल्लेख छ ।
बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचना स्थानीय व्यक्तिहरुले डोजर लगाई भत्कादिएका थिए। स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।
रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ । उनीहरूलाई बुधबार राति नै प्रहरीले पक्राउ गरेकाे हाे ।
निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बार भत्काउने काम गरेकोप्रति चाैर्तफी आक्रोश व्यक्त भइरहेकाे छ । सामाजिक सञ्जालमा दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।