किट अभावले बीपीमा कोरोना परीक्षण रोकियो: शल्यक्रिया प्रभावित

प्रदेश- १ मा दैनिक सबैभन्दा धेरै पीसीआर परीक्षण गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । पीसीआर परीक्षणको लागि आवश्यक पर्ने किट उपलब्ध नभएको कारण प्रतिष्ठानमा गरिँदै आएको पीसीआर परीक्षण बन्द भएको हो ।

पीसीआर परीक्षण नहुँदा प्रतिष्ठानमा उपचाररत बिरामीको शल्यक्रियासमेत रोकिएको छ । सिकिस्त बिरामीको शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गर्ने गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले किट नपठाएका कारण पीसीआर परीक्षण बन्द भएको बताए ।

प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी, प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको छ । पीसीआर परीक्षण रोकिएपछि दुर्घटनामा परेका र इमेरजेन्सी शल्यक्रिया गर्नुपर्ने बिरामी जोखिममा परेको चिकित्सकले बताएका छन् ।

प्रतिष्ठानमा भर्ना भएका सयौँ बिरामीको पीसीआर परीक्षण नभएका कारण शल्यक्रिया हुन नसकेको प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले बताए । शल्यक्रिया गर्न प्रतिष्ठान भर्ना भएका बिरामीको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

प्रतिष्ठानको हाडजोर्नी विभाग र आकस्मिक कक्षमा भर्ना भएका दर्जनौँ बिरामीको शल्यक्रिया पीसीआर नभएकै कारण रोकिएको डा. चौधरीले बताए । पीसीआर परीक्षण नभएका कारण प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएका महिलाको समेत शल्यक्रिया रोकिएको छ ।

प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले निःशुल्क गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको बताउँदै अब २ हजार रुपैयाँ शुल्क लिएर मात्र परीक्षण गर्ने जानकारी दिएका छन् ।

प्रतिष्ठानले सूचना नै जारी गरेर प्रदेश र संघीय सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेलसम्मलाई अब २ हजार रुपैयाँ शुल्क लिएर मात्रै कोरोना परीक्षण गर्ने जनाएको छ ।

बीपीको मात्रै होइन प्रदेशका अरू ल्याबहरूमा पनि रिएजेन्ट सकिएका कारण कोरोना परीक्षणमा समस्या भएको छ । अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण भइरहेको प्रयोगशालाका निर्देशक जयन्द्र यादवले जानकारी दिए । कोरोना परीक्षणका लागि रिएजेन्ट केमिकल उपलब्ध नहुँदा परीक्षण बन्द हुने अवस्थामा पुगेको उनले बताए ।