
काठमाडौं/ असोज १० नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।



आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६५ हजार नाघेको छ । आजसम्म ६५ हजार २ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १८ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना छन् भने १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५३ हजार १३ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण मुक्त हुने दर ७३.८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् ।