राजदरबार हत्याकाण्ड पछि निकालिएको शोक सन्देश यस्तो थियो हेर्नुहोस (पूरा विवरण)
शोक सन्देशको पूर्ण विवरणः
दिदी बहिनी तथा दाजुभाइहरू,
राष्ट्रिय एकताका प्रतीक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको अत्यन्त दुःखद एवं अप्रत्यासित निधनले हामी सम्पूर्ण नेपाली जनता स्तब्ध र शोकमग्न भएका छौँ। नेपालको ऐतिहासिक राजसंस्थाको गरिमा र मर्यादालाई झन्(झन् उज्ज्वल पार्दै जनताको सुख(दुःखमा निरन्तर समर्पित देशको प्रगति र एकताका निम्ति चिन्तनशील एवं संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रको पुनःस्थापना र विकासका निम्ति अविस्मरणीय योगदान पुर्याउने आफ्ना प्यारा राजारानीको अप्रत्यासित निधनको यो अत्यन्त दुःखद र पीडादायक राष्ट्रिय दुर्घटनाले नेपाली जनतालाई लामो समयसम्म मर्माहत गराइराख्नेछ।
मौसुफहरूको अप्रत्यासित निधनको यो घटनासँगै श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी जयन्ती शाह र कुमार खड्गविक्रम शाहसमेतको सामूहिक एवं अप्रत्यासित निधनले हामी सबै नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ।
यो हृदयविदारक एवं राष्ट्रिय शोकको बेला देशभित्र र बाहिर बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूलाई शान्त र सयमित रहन तथा धैर्यका साथ यस राष्ट्रिय विपत्तिलाई सहनसक्ने साहस बटुल्न अपील गर्दछु। नेपाली जनताको एकता र सयमको प्रदर्शन नै राष्ट्रिय शोकको यस घडीमा दिवंगत आफ्ना प्यारा राजारानीप्रति भावपूर्ण श्रद्धाञ्जलि हुनेछ।
समस्त नेपाली जनता र श्री ५ को सरकारका तर्फबाट म स्वर्गीय श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी एवं राजपरिवारका अन्य सदस्यहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मौसुफहरूको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ आ(आफ्ना धार्मिक विधि विधान र विश्वासअनुसार पूजाप्रार्थना गर्न समस्त नेपाली जनतालाई आग्रह गर्दछु।
साथै यस घटनामा घाइते होइबक्सेका वर्तमान श्री ५ दीपेन्द्र वीर विक्रम शाहदेवलगायत श्री ५ अधिराजकुमारी कोमलराज्य लक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी देवी शाही, कुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र केतकी चेप्टरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हिजो भएको अत्यन्त दुःखद घटनाका बीच आफ्ना प्यारा राजारानीलगायत राजपरिवारका अन्य सदस्यहरूसमेतको अप्रत्यासित एवं दुःखद निधनको यथार्थ परिस्थिति र घटनाको सत्य(तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वाससहित यसप्रति श्री ५ को सरकार गम्भीर र संवेदनशील रहेको तथ्य पनि सबै नेपाली दिदीबहिनी र दाजुभाइमा अवगत गराउन चाहन्छु। जय नेपाल


बिज्ञापन