
काठमाण्डाै – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेट गरी स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पुग्नुभएको हो । डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रह गर्नुभएका डा. केसीले नागरिककाे माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
डा. केसीले राख्दै आउनुभएका मागहरु पूरा हुने चरणमा रहेको भनेर सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न आग्रहसमेत पूर्वराष्ट्रपति यादवले भन्नुभयाे । आफ्नो ज्यानको परवाह नगरि सत्याग्रहमार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहनुभएको टिप्पणीसमेत पूर्वराष्ट्रपति डा. यादवले गर्नुभयो । राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा। केसीको ज्यान बचाउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
डा केसीको यो १९ औँ सत्याग्रह हो । विभिन्न माग राखेर १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा रहनुभएको छ । चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखेर डा. केसी अनशनमा बस्नुभएको हो ।
अनशनकाे १९ दिन बितिसक्दा पनि सरकारले समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल गरेको छैन ।