
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्नुका दुइटा कारण औँल्याएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भीड धेरै र सीमा नाकामा नियन्त्रण हुन नसक्नु नै उपत्यकामा कोरोना संक्रमण फैलुनका कारण रहेको औँल्याए ।



उनले सरकारले काम नगरेरभन्दा पनि स्वास्थ्य मापदण्ड पालना नगरेका कारण उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको बताए । उनले कोरोना संक्रमणको जोखिमकै बीच सभा, जुलुस, गोष्ठीजस्ता कार्यक्रम संचालन गरेकाले उपत्यकामा संक्रमण बढेको बताए ।

त्यस्तै, उनले नेपाल भारत सिमानामा राम्रो नियन्त्रण हुन नस्कदा देशमा कोरोना संक्रमण बढेको उनको तर्क छ । उनले भने, ‘नेपाल भारत सीमामा पनि त्यति राम्रो नियन्त्रण हुन सकेन किन भने हाम्रो सिमाना खुल्ला छ ।’ सीमाबाट मानिसहरू सीधै काठमाडौंमा आएर पनि स्वास्थ्य मापदण्ड फलो नगरेको उनले बताए ।
उनले केस बढे भनेर चिन्ता गर्नु भन्दा के गर्दा यसबाट जोगिन सकिन्छ भन्ने कुरा समयमै सोच्न उनले आग्रह गरे । ‘अझै पनि धेरै ढिला भएको छैन । हामी सबैले राम्रोसँग मास्क, भौतिक दूरी सेनिटाइजर प्रयोग गरौँ’ उनले भने ।