
विराटनगर/विराटनगरमा संस्थागत रूपमा निर्माण भएको कोभिड-१९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । लायन्स क्लबले विराटनगर- १२ मा निर्माण गरेको ३० शय्याको आइसोलेसन केन्द्र शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

होटलमा पैसा तिरेर आइसोलेसनमा बस्न नसक्ने, घर वा डेरामा बस्दा समस्या हुने तथा निजी अस्पतालमा खर्च गरेर आइसोलेसन सेवा लिन नसक्ने संक्रमितलाई सहयोग गर्ने उद्देश्यले लायन्सले प्रदेश सरकारसँग समन्वय गरेर सो आइसोलेसन केन्द्र निर्माण गरेको हो ।



आइसोलेसन उद्घाटन गर्दै मुख्यमन्त्री राईले दैनिक रूपमा संक्रमितको संख्या बढिरहेको बताउँदै अब अस्पतालले पनि धान्न नसक्ने अवस्था आइसकेकाले सरकारले संस्थागत आइसोलेसन निर्माण गर्ने सोच अघि बढाएको बताए ।

उनले संस्थागत आइसोलेसनप्रति भने संस्थाको चासो न्यून देखिएको गुनासो गरे । मुख्यमन्त्री राईले कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालको क्षमता बढाउनुपर्ने, आइसोसेलन र आइसीयू थप्नुपर्ने अवस्थामा सरकारले एक हजार शय्याको संस्थागत आइसोलेसन निर्माण गर्न चाहेको बताए ।
संस्थागत आइसोलेसन निर्माण गर्नेतर्फ सरकारले प्रस्ताव आव्हान गरेको भए पनि त्यसप्रति समुदायको चासो भने कम पाएको उनले बताए । मुख्यमन्त्री राईले संक्रमितको संख्या दैनिकरूपमा बढिरहेकोले प्रदेश १ का अस्पतालले मात्र थेग्न सक्ने अवस्था नरहेको बताए ।
प्रदेश १ मा दैनिकरूपमा औषत पाँच सय जनाका नयाँ संक्रमित पहिचान भइरहेको बताउँदै मुख्यमन्त्री राईले एक हप्तापछि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित भेटिने अवस्था रहेको बताए ।
मुख्यमन्त्री राईले होम आइसोलेसनको अनुगमन पनि सरकारले राम्ररी गर्न नसकिरहेको बताए ।
कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले एक महिनाअघि नै उद्घाटनको तयारी गरेको आइसोलेसन केन्द्र आफू संक्रमित हुँदा ढीलो भएको बताए ।
उनले सरकारले आइसोलेसनका लागि आवश्यक सबै सहयोग उपलव्ध गराउने प्रतिवद्धतासमेत जनाए ।