दिल्लीको सहज जित, राजस्थान ४६ रनले पराजित

आईपीएल/यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति शारजाहमा भएको खेलमा दिल्ली ४६ रनले विजयी भएको हो । दिल्लीको यो लगातार दोस्रो जित हो ।

दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि राहुल तेवटियाले ३८, एशस्वी जैसवालले ३४, स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले ३, रविचन्द्रन आश्विन, मार्कस स्टोइनिसले २/२, हर्षल पटेल, अक्क्षर पटेल र एनरिक नोर्खियाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

दिल्लीका लागि आज शिमरोन हेटमायरले ४५, मार्कस स्टोइनिसले ३९, श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्क्षर पटेलले १७ र हर्षल पटेलले १६ रन बनाए ।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३, कार्तिक त्यागी, एन्ड्रु टाय र राहुल तेवटियाले एक/एक विकेट लिए ।