
आईपीएल/दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।
सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । दिल्लीको जितमा शिखर धवनले शतक प्रहार गरे । उनले अविजित १ सय १ रन बनाए ।
यस्तै मार्कुस स्टोनिसले २४, कप्तान श्रेयस अय्यरले २३ रन बनाए भने अक्षर पटेल २१ रनमा अविजित रहे । रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । अक्षर पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै जित दिलाए ।
चेन्नईका दिपक चाहरले २ विकेट लिए भने साम कुरान, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रन बनाए भने अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।
दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए भने तुषार देशपाण्डे र कागिसो रबाडाले एक एक विकेट लिए ।
चेन्नईविरुद्ध एक विकेट लिएसँगै रबाडाले आईपीएलमा ५० औं विकेट लिएका छन् । उनले आईपीएलमा कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । रबाडाले २७ खेलमा ५० विकेट लिएका हुन् ।
जितसँगै शीर्ष स्थानमा पुगेको दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । चेन्नईले ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।