सुपर ओभरमा पन्जाबको जीत

आईपीएल/किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई हराएको छ ।

दुबईमा गएराति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

बिज्ञापन

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनः बराबरीमा सकियो । त्यसपछि फेरि अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जीत निकाल्यो ।

सुपर ओभरमा जानुअघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरन र क्रिस गेलले २४–२४, मायांक अग्रवालले ११ रन बनाए भने दिपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए भने राहुल चाहरले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने हार्दिक पाण्डयले ३४, कप्तान रोहित शर्मा ९ रनमा आउट भए । केइरन पोलार्डले अविजित ३४ रन जोडे भने नाथन कल्टर २४ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २–२ विकेट लिए भने क्रिस जोर्डन र रबि बोस्नोईले १–१ विकेट लिए । जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ । तेस्रो जीत निकालेको पन्जाबको ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।