वीर अस्पतालका १७ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं : वीर अस्पतालको आकस्मिक कक्षका १७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १७ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

बिज्ञापन

‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ,’ अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ ।

चिकित्सकहरुले धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

तर, अहिले वीर अस्पतालको आकास्मिक कक्षको उपचार भने रोकिएको छैन ।

‘कि हामीले भनेअनुसार काम गर कि राजीनामा देऊ भनेपछि हामीले राजीनामा दिएका हौँ’, डा. भविन्द्र कार्कीले भने, ‘तर, राजीनामा स्वीकृत नहुँदासम्म हामीले काम गरिरहन्छौँ, चिकित्सकको धर्म छाड्दैनौँ ।’