कतार विश्‍वकप : एसियाली छनोटका बाँकी खेलहरु जुन महिनाभित्रै सकिने

काठमाडौँ — कतार विश्वकप–२०२२ छनोटअन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ को जुन महिनाभित्र सम्पन्न गरिने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । छनोटअन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले बताएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी रहेको छ । समूह बीमा रहेको नेपाल अंकतालिकाको चौथो स्थानमा रहेको छ । समूह बीमा आफूले खेलेका ४ वटै खेल जित्दै अस्ट्रेलिया १२ अंकसहितको पहिलो स्थानमा छ । नेपालले भने आफूले खेलेका ५ वटामध्ये एक खेलमा मात्रै जित हात पारेको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । नेपाल कुवेतसँग १–०, जोर्डनसँग ३–०, अस्ट्रेलियासँग ५–० र कुवेतसँग ५–० ले हारेको थियो ।

छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ । बंगलादेशसँग शुक्रबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल सकेर स्वदेश फर्किने तालिका रहेको छ ।