
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।

आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ । यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।




अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।