
दमक । परिवर्तनका लागि युवा अभियानले झापाको गौरादह नगरपालिकामा आज बलात्कार तथा लैंगिक हिंसा बिरुद्धमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम गौरादह बजार परिक्रमा गरेर शुरु गरिएको थियो ।

गौरादह नगर र वडा स्तरीय महिला संजालको पनि बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम बजार देखि डिपुचौकसम्म बाटोको किनारमा प्लेकार्डमा बलात्कार र महिला हिंसा बिरुद्धका नारा लेखेर सांकेतिक रुपमा बिरोध प्रदर्शन गरेर सम्पन्न गरिएको थियो ।



`गृहमन्त्री ज्यु म निर्मला पन्त मेरो बलात्कारी र हत्यारा खोइ ?´ , `मेरो देशमा लुट छ , बलात्कारीलाई छुट छ , आखिर कहिलेसम्म ?´ , `म त भर्खर जन्मिएकी छोरी , आखिर मलाई श्वास फेर्न त देउ ´ `एउटी नारीको कोखबाट जन्मेको तिमी, अर्की नारीको बलात्कार गर्न अघि सर्दा अलिकति पनि तिम्रो हात कापेन ?´ जस्ता नाराहरु उल्लेखित प्लेकार्ड देखेर बाटो हिड्नेहरु पनि मरमाहितहुँदै सरकार बिरुद्ध अभिव्यक्ति दिदै हिडेका थिए।

उक्त कार्यक्रमको ओैचित्य बारे प्रकाश पार्दै अभियानका सचिव अशोक कार्कीले ` देशमा बलात्कार र लैंंगिक हिंसा बड्दो रुपमा देखिँदा देखिदै सरकार मौन रहनु आफैमा शंकाजनक रहेको छ,बलात्कार र लैंंगिक हिंसा बिरुद्धमा यो हाम्रो शान्तिपूर्ण कार्यक्रम हो , यदि राज्यले बलात्कार बिरुद्ध उचित कानुन बनाएर नेपाली चेलीको सुरक्षा गर्दैन भने हामी युवाहरु मिलेर सशक्त रुपमा आन्दोलनको घोषणा गर्नेछौं ।´ बताए ।
`यत्रो युवाहरूले कार्यक्रम गर्न लाग्दा सुरक्षा निकायलाई संस्थागत रुपमा जानकारी दिदा समेत सुरक्षा निकायको उपस्थिति भएन , सुरक्षा निकाय जनताको सुरक्षा गर्न हो कि नेताहरुको वरिपरि घुम्न ? ´ सचिव कार्कीले प्रतिप्रश्न गर्दै भने ।
कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद दिदै अभियानका उपाध्यक्ष रुपेश शिवाले भने ` यो हाम्रो बलात्कार र लैंगिक हिंसा बिरुद्धको खबरदारी कार्यक्रम मात्र हो , यदि राज्य महिला मैत्री हुदैन , हाम्रा चेलिबेटीहरु असुरक्षित रहन्छन् र बलात्कारीले उन्मुक्ति पाउछ भने अबको युवाहरु हातमा दहि जमाएर बस्नेवाला छैनन् ।´
उक्त कार्यक्रम अभियानका दिपिका भट्टराई , सुस्मिता लोहनी ,रुपा बुढाथोकी , सोकेन्द्र ताजपुरिया , प्रकाश बिष्ट , रोशन थापा लगायतको अगुवाइमा सम्पन्न भएको थियो ।
तस्बिरहरू