
काठमाडौं : किसान संगठनले आज (मंगलबार) भारत बन्द गरेका छन् । कृषि सम्बन्धी तीन कानूनको विरोधमा प्रदर्शन गर्दै आएका किसानले मंगलबार भारत बन्दको आह्वान गरेका हुन् ।

केन्द्र सरकारले किसान विरोधी र व्यवसायिक घरानालाई हित हुने कानून ल्याएको भन्दै तीनै कानून फिर्ता हुनसपर्ने माग गर्दै आएका किसानले भारत बन्द आह्वान गरेका हुन् ।



पञ्जाब, हरियाणासहितका किसान झण्डै दुई हप्तादेखि दिल्ली चलो आन्दोलन अन्तर्गत राजधानी दिल्लीका विभिन्न सीमामा धर्नामा बसेका छन् । उनीहरुलाई सरकारले दिल्ली प्रवेश गर्न दिएको छैन ।

अहिलेसम्म विभिन्न चरणमा भएका वार्तामा कुनै ठोस निर्णय निस्कन सकेको छैन । यहिबिचमा कानूनको विरोधमा किसानहरुले भारत बन्द गरेका हुन् ।
किसानको भारत बन्दमा विभिन्न राजनीतिक दलले पनि ऐक्यवद्धता जनाएका छन् । कांग्रेस र वामपन्थी पार्टीहरुसहित क्षेत्रीय राजनीतिमा बलियो रहेका डिएमके, टिआरएस, सपा, बसपा, आरजेडी, शिवसेना, एनसीपी, अकाली दल, आप, जेएमएमसहित कम्तिमा २४ राजनीतिक दलले भारत बन्दको समर्थन गरेका छन् । उनीहरुले किसानको माग सही रहेको बताएका छन् ।
किसान युनियन (क्रान्तिकारी) का अध्यक्ष दर्शन पाल सिंहले भनेका छन्, ‘हामी बसै राजनीतिक दललाई हाम्रो मागमा समर्थन गरेकामा धन्यबाद दिन्छौँ । तर मंगलबारको भारत बन्दमा सबै दलले आफ्नो झण्डा–ब्यानर घरमै राखेर मात्रै किसानको समर्थन गरुन् ।’