
दमक – झापा र पाँचथरमा बिहीबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।झापाको अर्जुनधारा नगरपालिका–११ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा पैदल यात्री स्थानीय ३३ वर्षीय ललित चौधरीको ज्यान गएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा परेर घाइते भएका चौधरीको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल र चालक झापाको मेचीनगर नगरपालिका–१२ का ३८ वर्षीय दानबहादुर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका–५ दुवीचौरस्थित मेची राजमार्गमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अमरपुरबाट काबेलीतर्फ जाँदै गरेको मे ४ प ८९४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चालक हिलिहाङ –५ का अन्दाजी २३ वर्षीय प्रविण कालिकोटेको मृत्यु भएको एसपी शर्माले जानकारी दिए ।



उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कालिकोटेको उपचारका क्रममा राति ८ः४५ बजेतिर जिल्ला अस्पताल पाँचथरमा ज्यान गएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार हिलिहाङ–२ की १९ वर्षीया मुना पाख्रिन गम्भीर घाइते भएकी छन् ।उनलाई थप उपचारका लागि बी एण्ड सी अस्पताल रेफर गरिएको छ ।
