घाँटी कसेको अवस्थामा पर्सामा एक पुरुषको शव फेला

वीरगञ्ज : पर्सामा एक जनाको पुरुषको शव फेला परेको छ । बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो ।

गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा सोनारको शव गाउँकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

‘घटनास्थलको प्रकृति हेर्दा कर्तव्य गरी मारेको जस्तै देखिन्छ । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले भनिन् ।

पैसाका लागि उनको हत्या भएको हुनसक्ने आंशका गरिएको छ । मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । साँझ ६ बजे गाउँकै चोकमा उनलाई देख्नेहरु पनि भेटिएका छन् । शुक्रबार नै भाञ्जीको बिहे थियो ।

विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ । गाउँलेले शव देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।